औपचारिक सिमाभित्र आमा

२१ बैशाख २०७६, शनिबार ०६:२६

माता तीर्थ औंसीलाई नेपालमा आमाको मुख हेर्ने दिनको रुपमा स्मरण गरिँदैछ र उत्सवको रुपमा यसलाई मनाइदैछ । नेपाली परम्पराअनुसार यसदिन आफ्ना जन्मदिने आमाहरुलाई मिष्ठान्न भोजन दिएर आशिर्वाद ग्रहण गर्ने चलन रहीआएको छ । यस दिनमा आफ्नी आमाले जीवन कालमा पार गरेका आरोह–अवरोहहरुको स्मरण मात्र गरिँदैन, जीवनकालका विशेष परिघटनाहरुको विशेष स्मरण र शिक्षा लिने अवसरको रुपमा पनि लिइन्छ ।

नेपाली सन्दर्भमा भन्दा यो पर्व पाश्चात्य संस्कृतिबाट आयातित नभएर नेपालको आफ्नै मौलिक संस्कृति र दुरगामी महत्वको पर्व पनि हो । यो पर्व आधुनिक संस्कृतिद्वारा व्यापारिक सम्बन्धमा बदलिएको वंश सम्बन्धलाई पवित्र र आत्मीय बनाउने एक महत्वपूर्ण अवसर पनि हो ।
पछिल्लो समय आमाको मुख हेर्न दिनको महत्व त बढ्दैछ । तर, त्यसमा अस्वभाविक कृतिमताको रंग भरिएको भान हुन्छ । वैदेशिक रोजगारी र जीवन निर्वाहका अवसरहरुको खोजीमा बरालिएको नेपाली समाजमा ग्रामीण दैनिकी दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको छ । विगत एक दशकयताको परिदृश्यलाई नजिकबाट नियाल्ने हो भने ग्रामीण बस्तीहरु अनाथालय वा बृद्धाश्रममा परिणत हुँदैछन् । तर, पनि हामीकहाँ आमा औंशीको दिनमा आमाको विज्ञापनको दर बढोत्तरी हुँदैछ ।

“यसले आमाको आत्मीय पक्ष मृत्युशैयामा छटपटाएको छ भने उपभोक्तावाद नै आत्मियता र बात्साल्यमाथि हावी हुन खोज्दैछ । यो परम्परा र आधुनिकताको नाममा जन्मिएको विकृति नै हो ।”

आमा शब्दको अर्थ त्यति सजिलो छैन, जति आमा रुपमा विज्ञापन गर्ने गरिएको छ । आमाको अर्थ पितृसत्तात्मक ग्रामीण परिवेशको जीवन भोगाइमा मात्र वास्तविक रुपमा भेट्न सकिन्छ । अभाव, दवाव र तनावको जिन्दगीमा एकपल पनि मुस्कानको अनुभूत गर्न नपाएका मनहरुको सम्मान सामाजिक सञ्जाल वा अरु कुनै सञ्चार माध्यमद्वारा व्यक्त गरिने एक दिने ‘बिरालो बँँधाई’ ले हुनै सक्दैन । नत वर्षभरि अभाव र बेसहारा जिन्दगीको दासी बनाएर एक दिन मिष्ठान्न भोजनको ‘फूड पोइजन’ बनाउने दरिद्र मानसिकताले नै बुझ्न सक्छ ।

आमाप्रतिको सम्मान र दायित्व एक दिने औपचारिक स्मरणले मात्र पूर्ण हुन सक्दैन । ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्चः स्वर्गदपि गरीयसि !’ यसै भनिएको होइन । दशरथका छोरा रामको वनबासपछि सत्ताको बागडोरमा आएका लक्ष्मणले सुनको राज्य लङ्का जितेर पनि अयोध्यामै बस्न इच्छा व्यक्त गरेको सन्दर्भसँग जन्मभूमि र आमाको तुलना गरिएको हो । तर, हामी विज्ञापनको अर्थमा यसको प्रयोग गरिरहेका छौं । यसले आमाको आत्मीय पक्ष मृत्युशैयामा छटपटाएको छ भने उपभोक्तावाद नै आत्मियता र बात्साल्यमाथि हावी हुन खोज्दैछ । यो परम्परा र आधुनिकताको नाममा जन्मिएको विकृति नै हो ।

व्यस्त दैनिकीमा हरेक बसन्तमा आमाको स्मरण पनि उपलब्धिपूर्ण नै ठान्नुपर्ने बाध्यता छ । बजारमूखी बात्साल्यबाट आक्रान्त समाज र संस्कृतिलाई तोड्न सक्नु नै अहिलेको सन्दर्भमा आमा औंसीको सार्थक सन्देश हुन सक्छ । समकालीन समाजको आर्थिक, सामाजिक औकात र धरातल अनुसार आमाको परिभाषा, भूमिका र स्मरण अन्यथा होइन । तर, स्मरणभित्र आत्मीय र प्राकृतिक पक्ष बलियो हुनुपर्दछ । कृतिमताको गन्धले भरिएको आमा औंशीलाई आत्मीयता र जिम्मेवारीबोधको साङ्लोले बाँधौं, आमा औंशीको हार्दिक शुभकामना ।

सम्बन्धित समाचार

Comments

error: Content is protected !!