वर्तमान परिस्थितिमा केवल कमिसन र प्रतिष्ठाको खेल आइफा !

१८ असार २०७६, बुधबार २०:३५

आइफा अवार्ड! जताततै चर्चा परिचर्चा ! के यो विषयले यती धेरै (सरकारको प्रवक्ताले स्पष्टीकरण दिनुपर्ने गरी) चर्चा,बहस पाउनुपर्ने थियो र? केही विज्ञ,अथवा सत्ता नजिकका व्यापारी र कार्यकर्ताहरूले श्रीलङ्काको उदाहरण दिँदै कहिले चिनी व्यापारी,कहिले खानेपानी मन्त्रालयका सचिव ज्यु द्वारा ठगिने प्रधानमन्त्री ज्युलाई ठगेर आयोजना गराइछाड्ने पक्षमा देखिन्छन्। आइफा आयोजना गर्नु वा आयोजना गर्नको निम्ति बहस गर्नु त्यति खेर मुनासिव हुन्थ्यो यदि आजको हाम्रो अर्थ,राजनीतिक व्यवस्था श्रीलङ्काले आइफा आयोजना गर्दाताकाको श्रीलङ्काको जस्तो राजनीतिक नेतृत्व,अर्थ -राजनीतिक व्यवस्था र पूर्वाधार विकास जस्तो हुन्थ्यो भने !

सन् २००९ मा २६ वर्ष लामो कहालीलाग्दो हिंसात्मक गृह युद्ध पश्चात् शान्तिपूर्ण चुनाव सफल पार्दै र तत्कालिन राष्ट्रपति राजापक्षको उत्कृष्ट बाह्य कूटनीति द्वारा भारत र चाइना बिच लगानीको प्रतिस्पर्धा द्वारा केही पोर्ट , हजारौँ मेगावाटका विद्धुत उत्पादन गर्ने प्रोजेक्ट जस्ता भीमकाय आयोजनाको सुरुवात र कार्यन्वयनले सिर्जित रोजगारीका अवसर तथा पूर्वाधार विकासले अन्तरदेशीय व्यापार र पर्यटन व्यवसाय फस्टाउनु को परीणाम नै एक वर्ष पछि अर्थात् २०१० को अन्त्य तिर ७०० अमेरिकी डलरले जिडिपी प्रतिव्यक्ति आय बढाउनुका साथै सन २००६ मा रहेको १५ प्रतिशत गरिबीलाई सन २०१० को अन्त्यतिर ८ प्रतिशतमा झार्न सफल भएको थिए । यी उदाहरण दिनु को लक्ष्य श्रीलंकन नेतृत्वको सङ्कल्प, अठोट र व्यवस्थापकीय क्षमता र त्यहाँको आइफा आयोजना गर्दा ताकाको पूर्वाधार विकास लाई दर्साउन खोजिएको हो।

अनि एउटा दश वर्षे जनयुद्ध पछि एउटा संविधान बनाउन १० वर्ष लगाउने, एउटै भूकम्पको पुनर्निर्माणमा करीव आधा दशक बितिसक्दा पनि ५० प्रतिशत सम्पन्न गर्न नसक्ने, पङ्क्तिकार जन्मिनु भन्दा अगाडि करिब २५ वर्ष देखिको खानेपानी आयोजना मा ब्रेक थ्रु दिन नसक्ने अदुर्दर्शी, व्यवस्थापकीय क्षमता शून्य सरह भएका राजनीतिक नेतृत्वले के साँच्चै आइफा अवार्ड आयोजना गर्न गरेर कुनै खोज्,अध्ययन बिनाको अर्बौँ रकम भित्रयाउन सक्लान् त ? सरकार, टुरिजम बोर्ड, काठमाण्डौ महानगरपालिका नै लागेर आयोजना गर्नुपर्ने आइफा बाहेक पर्यटन बढाउने,देशको अर्थव्यवस्था सुधार्ने अरू कुनै योजना छैनन् त?

अहिलेको अवस्थामा आइफा अवार्ड आयोजना गर्नुले कुनैपनी बाटोबाट केही विज्ञंहरुले श्रीलङ्काको उदाहरण दिएर हल्ला चलाए झैँ अर्बौको डलर भित्रिने छैन। सन् २०११ ताका श्रीलङ्काले भारतलाई भारतका ठुला र समृद्ध शहर मुम्बई, दिल्ली, बैङ्लोर, चेन्नई,कोलकाता जस्ता १० शहर देखी प्रत्यक्ष हवाइ यातायातले जोडेको रहेछ, र पाच वटा क्षेत्रीय एअरपोर्ट द्वारा चाइना , भारत,मालदिभ्स लगायत का देश सँग सहज पहुँच विस्तार गरेको थियो।

अर्थशास्त्रीहरु क्रिस्टिना क्रस्टुरेन्यु र एना वविर्का द्वारा गरिएको खोजमा आधारित एउटा जर्नलमा आन्तरिक हवाई यातायातको वृहत् पहुँच र क्षेत्रीय देशसँगको हवाइ यातायात को पहुँचले पर्यटनमा सबैभन्दा ठुलो प्रभाव पार्दछ भन्ने निष्कर्ष निक्सिन्छ। चाइना र भारतको श्रीलङ्कामा भएको लगानी प्रतिस्पर्धाको होडबाजी र त्यसपछिको वृहत् र सहज हवाई यातायातको पहुँच र क्रिकेट विश्व कपको आयोजना जस्ता कारणले श्रीलङ्काको पर्यटनमा चमत्कारीक वृद्धि भएको देखिन्छ नकी केही नेपाली विज्ञहरूले भनेअनुसार को आइफा अवार्ड आयोजनाले । तसर्थ हाम्रो प्राथमिकता मा निर्माणाधिन एअरपोर्ट र केही राष्ट्रिय गौरवका आयोजनाको ब्रेक थ्रु नै हुनुपर्छ साथै काठमाडौं लाई धुलो मुक्त, व्यवस्थित बनाउनु र पर्यटन क्षेत्रमा पर्ने व्यवसायहरुको कडा नियमन र सुपरिवेक्षले हाम्रो पर्यटन व्यवसाय मात्र नभएर देशको अर्थतन्त्र ले नै मुहार फेर्नेछ।

Comments