भारतीय दबाब : तत्काल नेपाल सरकारले तरकारी र विषादी परीक्षण नगर्ने

२१ असार २०७६, शनिबार ०८:३६

काठमान्डौँ : भारतीय दबाबपछि सीमामा तरकारी र विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हटेको छ । सरकारले असार २ गतेदेखि विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमा नाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको थियो । भारतले आपत्ति जनाएपछि आवश्यक तयारी पूरा नभएको भन्दै बिहीबारको मन्त्रीपरिषद बैठकले सो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । आवश्यक तयारी पूरा नभएको भन्दै सरकारले छ महिनाका लागि विषादी परीक्षण रोकेको हो । यसअघि भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायतका सामग्री भित्र्याउने ब्यवस्था मिलाइदिन आग्रह गरेको थियो । जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, भारतले सिमानामा विषादी जाँचका लागि प्रयोगशाला नभएको भन्दै उत्पत्तिको प्रमाणपत्रकै आधारमा भित्रिन दिनुपर्ने माग गरेको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा मात्रै भारतबाट नेपालमा २६ अर्ब ४६ करोड ७५ लाख रुपैयाँको तरकारी र १७ अर्ब ३ करोड रुपैयाँको फलफूल आयात भएको छ ।

Comments