आजवाद ! भोलिवाद !! फेरि विवाद !!!

२५ श्रावण २०७६, शनिबार २०:०९

मुकेनाथ लुईंटेल एक एम्. ए पास पठित व्यक्ति हुन् । उनका एक छोरा र श्रीमती छन् । परिवार सानो र सुखी छ । उनी आफु पनि त्यही परिवार जस्तै साना अनि सुकेका छन् । वरपरकाले सोध्दा श्रीमती भन्छिन् रे उनलाई खानै रुच्दैन, मासुको चौक्टा पाए त अलि खान्छन्
रे नत्र उनको आहारा बिस्कन चोर्ने कौवाको जति मात्र । यही कारण टोलका केही आबारा, अल्लारे ठिटाहरू उनलाई लुलु उपनामले पुकार्छन्। केही लुलीपन देखिंदैन अर्थात् समाजका एक स्वच्छ छविवाला नागरिक हुनु उनी । जागिर पनि राम्रै खाएका छन् । कृन्नि कुनचाहिं गैरसरकारी संस्थामा काम गर्छन् त्यसैले जाउलो खान अनि घरका अन्य आवश्यकता पुर्ति गर्न तलब काफी छ। श्रीमतीचाहिं घरै बस्छिन, घरकै कामधन्दा गर्दछिन् र आंखा झिमिक्क नपारी सारा टेलीश्रुङ्खला हेर्छीन्। एउटा धम्मरधुसको जुङ्गेमुठे छोरो पनि छ उनको । ऊ कक्षा नौ मा पढ्छ । सबै तिरबाट हैर्दा उनकी जीवनरथ राम्रै चलेको मान्नुपर्दछ। सुकेनाथ हुन त एक ठंडा दिमागका मानिस हुन् तर उती कुनै कराको पछि परे भने त्यसको खैरो खनेर छाड्छन् । संक्षिप्त रूपमा भन्दा एक प्रकारका लेंडे मानिस हुन् उनी ।

आफू रामै पढे-लेखेको भएकाले छोराको पढ़ाइतफ पनि उनी दृष्टि पुर्‍याउन बिर्सदैनन् । छोरालाई केही समस्या परे दशतिर आफैं सोधेर
भएपनि त्यस समस्याको निक्यौल नगरे उनलाई उपियांले टोकेझैं लाग्दछ। यसरी छोराको पढाइतर्फ बेलाबखत नजर दौड़ाउने सुकेनाथले एकदिन छोराको कक्षा ९ को पाठ्यपुस्तक हेर्न थालेछन् । यत्तिकैमा उनको ध्यान तानेछ एउटा बढ़ी रमाइलो निबन्धले । निबन्ध भोलिवादी प्रवृत्तिको विरुद्ध रमाइलो पाराले लेखिएको रैछ ।सुकेनाथलाई त्यसका प्रसंगहरुले र त्यस निबन्धले निकाल्ने निष्कर्षले खुब घत परेछ। । उनले एक्लै कोठामा बसेर त्यो निबन्ध पढेछन् करिब दश पल्ट। पलेटी मार्दै निबन्ध पढ्दै हाँस्दै अनि त्यसको सन्देश बुझ्दै पुन: आफैँ टाउको हल्लाइ सही थाप्दै गरेछन्। अगाडि उल्लेख गरेझैं कुनै कुरामा चित्त बुझ्यो भने त्यसलाई हरहमेसा सर्वोपरि ठानी आफ्नो र अरुको जीवनमा लागु गर्न खोज्ने उनको रोग निबन्धले पुन बल्झायो। भोलिवादी प्रवृत्तिको विरुद्ध एक्लै क्रान्ति गर्ने सोच बनाए। उनको यस विचारमा
“कल करै सो आज करै, आज करै सो अब
पलमे प्रलय होएगी बहुरी करोगे कब?”
भन्ने हिन्दी दोहाले पनि आगोमा घिउ थप्ने काम गर्यो। उनको विचारमा हरेक मानिसमा भोलिवाद भन्सारका कर्मचारीका मनमा भ्रष्टाचार गडेझैं गडेर बसेको छ त्यसैले ऊ अहिलेको काम पछि र पछिको भोली गर्दै भाका सार्दै लैजान्छ। उनको विचारमा यस्ता धेरै भोलि मिलैर आजको काम वर्षौं पछाड़ि धकेलिएको छ । उनले यो गम्भीर रोगको ओखती एउटै फेला पारे- त्यो हो “आज” र “अहिलेवाद”। अब उनी भाका सार्न होइन भोलिको आज र आजको काम अहिले गर्न तत्पर भए।

आफनो नयाँ वादको हुडिङ्ग बोर्ड मन-मस्तिष्कमा बलियो गरी ठोकेर यसलाई व्यवहारमा लागू गर्न सुकेनाथले भोलि भनेनन् । त्यस दिन बेलुका सुकेनाथले सधैं को जति मात्र खाना नभएर अर्को दिन बिहानको पनि खाना खाए । श्रीमतीले त्यसो गर्नुको कारण सोध्दा आजवादको थालनी थालैबाट गरेको बताए । त्यसैे त धेरै आहारा नभएको मान्छे उसमाथि दुई छाक एकै चोटि । उनलाई त्यो सक्न हम्मेहम्मे पर्यो,अहिलेवादको श्री गणेशले नै पसिना काढ्यो । जे भए पनि कुनै कुरामा कारण सोध्दा अहिलेवादको लिसो टाँसिएझैं टाँसिने उनको बानी यति छिटो के छुट्थ्यो ? श्रीमतीलाई पनि नपुग्ने गरी कसौटी नै रित्ताएछन् । अब मुखबाट हालेर मात्रै भएन, पेटमा त आखिर त्यो जाने नै हो । दुई छाक एकैपल्ट लुंडाएका सुकेनाथको मातथैली फुल्दा पेट दमाहा जत्रो भयो । अनि ढुनमुनिदै उनी गएर लडे आफ्नो खाटमा । भातले अटसमटस भएका सुकेनाथलाई साहै असजिलो भयो र राती उनी जुनकिरी कराएको सुनेर बसे। अलि ढिलै भएपनि निद्रा परेको रैछ एक्कासि सुकेनाथ जाग्न पुगे । पेटमा त लौ अर्को महाभारत चल्न लाग्यो । कुरुक्षेत्रमा श्रीकृष्णले शङ्खनाद गरेझैं विभिन्न आवाज पेटबाट निक्लिएपछि सुकेनाथको बाँकी रात चर्पीमै बित्यो । बिहानपख़ पेटधारा थामिएपछि उनी अफिस हिँडने तरखर गर्न लागे । “बिहानको मुख्य काम भनेको खाने हो जुन भैसक्यो, अब घरै बसेर के गर्नु ? नौ बजे नै पुग्नुपर्ने अफिस छ बजे नै पुगे मेरो अहिलेवाद लागू हुनेछ ।” यस्ता तर्क-बितर्क गर्दै बिहानी कर्ममा उनी लागे। चिसो पानीले नुहाउने बानी भएका सुकेनाथ ठण्डीमा चण्डी पढेझैं कुन्नि के के फतफताउंदै नुहाइ धुवाइ गरी झोला बोकेर बिहानै कुखुरा त के मुसो पनि नजाग्दै अफिस हिंडे । त्यति सबेरै अरु को पो भेट्टिन्थ्यो र बाटोमा कुचिकार, दुधवाला,पत्रिका बेच्ने मान्छेबाहेक ? अफिस पुग्दा अफिसमा ठूलो भोटे ताल्चा । उनलाई पो अहिलेवादले छोएको छ अरु त आफ्नै धुनमा मस्त छन्। घरमा सात भूंडी देख्ने गरी स्वप्नलोकमा पुगेको पिउनलाई गाली गर्दै अल्लीपनाले सबैलाई गाजेको छ भनी एक्लै आमसभामा डांको हाल्ने नेताझैं कराउँदै सुकेनाथ अफिसको छिंडीमा बसिरहे । बिहान आठ बजेतिर धोए पनि कचेराले टालिएको आँखा मिच्दै पिउन के अफिस परिसरमा झुल्किएको थियो सुकेनाथले अहिलेवादको महत्त्वमाथि प्रकाश पार्दै करिब पन्ध्र मिनेट धाराप्रवाह भाषण गरेपछि लौ ढिलो भएछ क्या हो भनी बडी हेर्दा पिउन दङ्गदास भयो । के गरोस् ? ठूलो हाकिम विरोध गर्न भएन। ऊ नुन खाएको कुखुरोझैं लुरूक्क पर्दै आफ्नो काम सम्हाल्न लाग्यो। यसरी बिहान अन्य कर्मचारी पनि नआउदै अफिस पुगी सुकेनाथले अहिलेवादलाई व्यवहारमा उतारे । अब उनले आजवादको पनि प्रयोग गर्ने सोच बनाए । महिना सकिन अझ बाह्र दिन बाँकी थियो । संसारको जुन कुनामा पनि राष्ट्रपतिदेखि घरपतिसम्म, नगरपालिकाको कुचिकारदेखि, मन्त्रालयका हाकिमसम्म दायाँ-बायाँ अनि मुनिबाट कमाएको पैसालाई बिर्सिई नियमित तलबको कुरा गर्दा महिना सकिएपछि मात्र तलब पार्ने चलन छ । सुकेनाथले यसरी महिना सकिएपछि तलब दिइने चलनमा पनि आजवाद, फिट गर्ने मनस्थिति बनाए ।आफ्नो यो विस्फोटक सोचले भोलिवादलाई नराम्रो थप्पड हान्ने सोचेर सुकेनाथ बाह्र दिन पहिले नै तलब माग्न हाकिमनेर पुगे । ढोका यसो ढकढक गरी भित्र गए अनि घाँटी सफा गरी नम्र स्वरले तलब पाउने इच्छा जाहेर गरे । पेन्सिलले कानेगुजी कोट्याउँदै गरेका हाकिम जिल्ल परे अनि घरमा पात्रोको पन्ना पल्टाउन बिर्सिएछ क्या हो भनी अफिसकै पात्रोमा आँखा लगाउँदा महिना सकिन अझैं बाह्र दिन बाँकी भएको थाहा पाए । हाकिमले सोधे, के हो माड’साब ! खर्च चलाउन साह्रै गाहो भयो कि क्या हो ? महिना नसकी तलब पाउने कुरा पो गर्नुहुन्छ, बा । सुकेनाथले भने होइन दुई छाक खान त राम्रै पुगेको छ । हाकिमले अझ आश्चरयंचकित मुद्रामा सोधे अनि के रोगले छोएर बाह्र दिन बाँंकी तलब माग्न आउनु भा, दिमाग बिग्रन थाल्यो कि क्या हो? हाकिमका कटु शब्दले सुकेनाथलाई औधि रिस उठ्यो र कान राता-राता बनाउदै साइकलको ट्युब पड्केझैं उचाली-उचाली आजवादका बारेमा स्तुतिगान गाए।

यसरी आफ्नै हाकिमलाईं कुमारजीले अगस्त्य मुनिलाई स्वस्थानी सुनाए झैं विभिन्न कुरा सुनाएर उनी बेलुका घर फर्क । घर पुगेपछि उनकाआजवादी दर्शनमा नयाँ आयाम थपियो। उनले श्रीमती र छोरामा पनि विभिन्न आजवाद लागू गर्ने विचार गरे । मानिसको उमेर ढल्कदै गएपछि जब उसको चोर्ने ढाँट्ने, विभिन्न तिगडमवाजी गरेर सम्पत्तिको जोहो गर्ने बाल-बच्चा जन्माउने धोको पूरा हुन्छ अनि धार्मिक बन्छ अनि पाए रामनामी औढेर नपाए त्यसै भएपनि मन्दिर मन्दिर चहार्दै आफ्नो जीवनको एकाउण्टबाट पापका फाइलहरु बन्द होऊन भनी बिन्ती अनि घूस स्वरूप दक्षिणा टक्र्याउँछ। यसरी धर्मतिर केश पाकेपछि स्त्रीजातिको झुकाव अलि बढी नै हुन्छ । सुकेनाथले आफ्नी श्रीमतीलाई पनि भो धर्म- कर्ममा भोलि भन्तु हुँदैन भन्दै आजै रामनामी ओढी, टेलिश्रङ्खला छोड़ी प्रभुको भक्तिमा लाग्न आग्रह गरे । यसरी समयसमय नपुगी आफूलाई भक्तिनी बनाउन लागेका श्रीमानप्रति राय प्रकट गरेपनि सुकेनाथको दर्शन सामु उनले बोल्ने मौका नै पाइनन्। सुकेनाथले आफ्नो जीवनको अर्को ठुलो दायित्व बृहारी भितत्र्याउनु हो भन्दै यस कुरामा पनि आजवाद लगाउन खोजे । कलिलो छोरो बिचरा बुबालाई आजवादको भूतचढ्दा आफू पनि त्यही आजवादको जाँतोमा पिधिने कुरा सम्झी चिन्तित भयो। अर्को दिन बिहान पुन संसार नज़ाग्दै कुखुरा नबास्दै बेलुकाको बासी पानीले मुख धोएर देवताथानको मूर्ति छोएर सुकेनाथ अफिस जान निक्लिए । बाटोमा उनको भेट भक्तेसाहुसँग भयो। अति सहयोगी भावना भएकाले पैसाको खाँचो परेकालाई चर्को ब्याजदरमा पैसा उपलब्ध गराउन उनी खप्पिस थिए । भक्तेसाहू भनेपछि टोलभरिमा नचिन्ने कोही थिएनन् । बोल्दा “भनेर भन्दाखेरि” भन्ने हुनाले उनको नाउँ कसै-कसैले भन्दासाहू पनि राखेका थिए । सुकेनाथ हातमा झोला लिएर ठाँटिएर हिंडेको देखी भक्तेसाहूले सोधे, ओहो !, सुकेनाथजी भनेर भन्दाखेरि यति बिहानै कहाँ जान लाग्नु भा भनेर भन्दाखेरि झोला बोकेर? जवाफमा सुकेनाथले अफिस भनेपछि उनले पुन सोधे । यति सबेरै भनेर भन्दाखेरि के को अफिस हो ? कतै भनेर भन्दखेरि ओभर टाइमको चक्कर त हैन भनेर भन्दाखेरि ? यति सुनेपछि सुकेनाथले भक्तेसाहूलाई पनि आज र अहिलेवादको महत्त्वमाथि लघुभाषण सुनाए। यति सुनेपछि बाँठा भक्तेसाहूले सुकेनाथसँग पनि आफ्नो पैसा फिर्ता लिन बाँकी भएको सम्झी भने ओहो सुकेनाथजी यो त भनेर भन्दाखेरि साहै राम्रो चिन्तन हो । लौन मेरो पैसा पनि भनेर भन्दाखैरि आज र अहिले नै दिनुपर्यो भनेर भन्दाखेरि ….। यति सुनेपछि सुकेनाथलाई आफू चेपुवामा परेको थाहा भयो अनि अन्य कुरा गरी उनी त्यहाँबाट फुत्किएर अफिस गुगे । बिहान-बिहानै नराम्रो भझट्का खाई अफिस पुगेर काममा लागे । नियमित समयमा हाकिम आएको केहीबेरपछि पिउनले उनको टेबलमा जागिरबाट निष्कासित गरिएको पत्र पठायो। सुकेनाथलाई आफ्नै वादले दुई ठुला उपहार प्रभातकालमानै टक्र्यायो । पत्र पढेपछि उनी ब्यान्ड बिग्रिएको रेडियो जस्तो अनि पिक्चर ट्युब उडेको टेलिभिजन जस्तो भए । निकै दुखी भई घर फर्के । घरमा आउँदा घर सुनसान लागेर सुकेनाथ कोठा-कोठा चहार्न लागे । बैठक कोठाको टेवुलमा उनले अको पत्र पाए। त्यो पत्र चाहिं श्रीमतीको रहेछ। पत्रमा “स्वच्छन्द जीवन यापन गर्ने अधिकार आज र अहिलेवादले खोसेकोले म छोरासहित माइती गएँ, तपाईंलाई आफ्नो वाद बधाई” भनी लेखिएको पाएपछि सुकेनाथलाई शिरमाथि आकाश र गोडामुनि जमिन नभएझैं लाग्यो । उनको आफ्नै वाद उनका लागि भालुको कन्पारोझौं भयो । सुकेनाथ टाउकामा हात लगाई भन्न थाले जय अहिलेवाद ! जय आजवाद !!

 

Comments