आजदेखि सोह्र श्राद्ध शुरु, श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन

२८ भाद्र २०७६, शनिबार १०:०८

काठमाडौं : वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ ।

सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । आफ्ना पितृका नाममा सोह्रश्राद्धभर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ ।

यस अवसरमा गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया, त्रिवेणीलगायत नदी किनारमा श्राद्ध गर्नेको भीड लाग्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।

Comments

error: Content is protected !!