भारतको चन्द्रमामा पुग्ने तेस्रो योजना सार्वजनिक

१७ पुष २०७६, बिहीबार ०९:०७

एजेन्सी : भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ । विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले नयाँ योजना सार्वजनिक गरेको हो ।

भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के शिवनले मानवरहित चन्द्रयान तीन मिसनसम्बन्धी कार्य “सहज रूपमा“ अघि बढिरहेको जानकारी दिएका हुन् । सन २०२० भित्रै प्रक्षेपण गर्ने तयारी गरिएको चन्द्रयान तीन २०२१ सम्म चन्द्रमामा पुग्ने अनुमान गरिएको छ ।

योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ । चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन् ।

सन् २००८ मा भारतले प्रक्षेपक्ष गरेको चन्द्रयान एकले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो । चन्द्रमामा पानी र खनिज पदार्थको खोजीका साथै त्यहाँको भूकम्प मापन गर्ने लक्ष्यका साथ भारतले पठाएको चन्द्रयान दुई मिशन भने असफल भएको थियो । गत सेप्टेम्बरमा चन्द्रमाको सतहमा ठोक्किएर उक्त यानले अवतरण गरेपछि मिसन सफल हुन नसकेको हो ।

Comments

error: Content is protected !!