विप्लवसँग सरकारको तीनबुँदे सहमति : सहमतिका बुँदा भोलिमात्र सार्वजनिक गरिने, प्रम ओली र विप्लवले सम्बोधन गर्ने

२० फाल्गुन २०७७, बिहीबार ११:०९

फास्टेस्ट न्युज नेपाल
काठमान्डू फाल्गुन, २० – नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। बिहीवार तेस्रो चरणको वार्तापछि दुई पक्ष सहमतिमा पुगेको हो।

नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेतृत्वको नेकपाबाट प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त सहमति भएको उल्लेख छ। विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट विप्लव नेकपामाथि लागेको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएका छन्।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे एक कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन्।

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहलाई प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै प्रतिबन्ध लगाएको थियो। २०७५ फागुन २८ गते ‘विप्लव’ समूहलाई राजनीतिक पार्टीबाट अलग गरेर प्रतिबन्ध लगाइएको हो।

 

Comments

error: Content is protected !!