२०७८ कार्तिक ११ गते, बिहीबार ०२:२१

कविता : नजरको भूगोल

२०७८ असार २ गते, बुधबार ०८:१४

फास्टेस्ट न्युज नेपाल
धनगढि, अषाढ २ –
कल्पना जोशी:

चामलको पिठोमा डुबाएको
भकुण्डो जस्तै हाम्रो ब्रम्हाण्ड
न थिए साथका देशान्तररेखाहरू
न त थिए बिछोडका
अक्षांशरेखाहरू
स्वयं कोरिएको थिएन
विचारको भूमध्यरेखा

कहिले तिमी नाइल बनेर
मलाई इजिप्ट हुने वरदान दियाै
कहिले म युरोप बनेर तिमीलाई
टर्की भनिरहेँ

कहिले तिमी अमेजन बनेर
हैकम जमाइरह्याै
कहिले म कंगो बनेर चुपचाप
सहिरहेँ

बत्तीमुनिको अध्याँरो हटाउन
अर्को बत्ती बाल्दा
दुई बत्तीमुनिको अफ्रिका भइरह्याैँ

मैले आफ्नो आँखाको
झ्यालबाट
मनको पर्दा अलिक पर सारेर
एकछिन चिहाउने हिम्मत राखिनँ
तिम्रो मनको गल्लीतिर

तिमीले आफ्नो आँखाको
झ्यालबाट
एकनजर लगाउने हिम्मत गरेनौं
मेरो मनको गल्लीतिर

दुईटैको नजरबाट
दुइटै गल्लीमा दुईपटक हेरिँदा
सायद केही/ कोही नभएपनि
भएजस्तो लाग्दो हो
कोही नहिँडेपनि हिँडेजस्तो लाग्दो हो

आज तिमीले सिधै नजरमा नजर
मिलाउन भन्याै
सिङ्गो ग्लोबले ‘ग्लोबल वर्मिङ्’ भनिरहेछ।

Comments